

३० भदौ काठमाडौ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य युवराज दुलालले ऐतिहासिक तथा व्यापारिक महत्वको तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन तत्काल उच्चस्तरीय कूटनीतिक पहलको माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले सीमानाका नियमित र व्यवस्थित रूपमा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा, व्यापारी तथा समग्र अर्थतन्त्रमा गम्भीर असर परेको बताएका हुन्।
उनले उत्तरी छिमेकी राष्ट्र चीनसँग जोडिएको यो प्रमुख नाका विभिन्न कारणले बारम्बार प्रभावित हुँदा यस क्षेत्रको जनजीवन कष्टकर बनेको उल्लेख गरे। नाकालाई पूर्ण क्षमतामा खुलाउन र आयात निर्यात तथा सीमापार आवागमनलाई सहज बनाउन सरकारले कूटनीतिक च्यानलबाट गम्भीरतापूर्वक पहल गर्नुपर्ने उनको भनाइ थियो। लामो समयदेखि तातोपानी नाकाले पूर्ण गति लिन नसक्दा सिन्धुपाल्चोकका हजारौं व्यवसायी, मजदुर र ढुवानीमा संलग्न श्रमिकहरू प्रत्यक्ष मारमा परेका छन्। स्थानीय स्तरमा रोजगारीका अवसरहरू खुम्चिँदै गएको र यस क्षेत्रको आर्थिक गतिविधि शिथिल बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसद दुलालले यस समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरे। व्यापारिक गतिविधि सुचारु नहुँदा राज्यले प्राप्त गर्ने राजस्वमा समेत असर पुगिरहेको सन्दर्भ औंल्याउँदै उनले उत्तरतर्फका सीमानाकाहरूलाई स्थायी, सुरक्षित र भरपर्दो रूपमा सञ्चालन गर्न चिनियाँ पक्षसँग उच्च तहमा संवाद तीव्र पार्न जोड दिएका छन्।

