रसुवा–भोटेकोशी बाढी प्रतिकार्य: गुणस्तरीय मानवीय सहायता र जवाफदेहिताका लागि नागरिक संवाद

विपद् प्रतिकार्य, पुनर्लाभ र पुनर्निर्माणका क्रममा प्रभावित समुदायको आत्मसम्मान र मानवीय मर्यादालाई सर्वोपरी राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

१ असोज काठमाडाैँ । विपद् प्रतिकार्य, पुनर्लाभ र पुनर्निर्माणका क्रममा प्रभावित समुदायको आत्मसम्मान र मानवीय मर्यादालाई सर्वोपरी राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चअन्तर्गत गैरसरकारी संस्था समूहको आयोजनामा बुधबार रसुवा भोटेकोशी बाढी प्रतिकार्यमा मानवीय सहायता, गुणस्तर, जवाफदेहिता र नागरिक संस्थाको भूमिका विषयक नागरिक संवाद सम्पन्न भएको हो । कार्यक्रम समूहका संयोजक एवम् राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) का अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षता तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईको विशेष आतिथ्यतामा भएको थियाे ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बाढी प्रभावित क्षेत्रमा प्रभावकारी मानवीय सहायता, राहतको गुणस्तर सुनिश्चितता तथा नागरिक संघसंस्थाको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गरेका थिए । उनले विपद् प्रतिकार्य राहत वितरणमा मात्र सीमित हुन नहुने भन्दै प्रभावितहरूको आत्मसम्मान र मानवीय मर्यादा जोगाउने अभियानका बुझ्न आग्रह गरे । यसका लागि तीन तहका सरकार, नागरिक समाज र स्थानीय समुदायबीच बलियो समन्वय, पारदर्शिता र जवाफदेहिता अपरिहार्य हुने थापाको भनाई थियो । कार्यक्रमको सुरुमा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष भट्टराईले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य स्पष्ट गरेका थिए । विपदमा गैरसरकारी संस्थाहरुले गरेका कामका सन्दर्भमा केही समयमै प्रभावित जिल्लामा समन्वय बैठक गर्न लागिएकाे उनले जानकारी दिए । पीडितलाई राहत कार्ड र जिल्ला समन्वय समितिको अधिकारका विषयमा नीतिगत ग्यापबारे बहस हनुपर्नेमा उनको जोड थियो ।

संवादमा विपद् प्रतिकार्यमा संलग्न विभिन्न संघसंस्थाका प्रतिनिधिहरूबीच स्फेयर स्ट्यान्डर्ड्स र कोर ह्युमनिटेरियन स्ट्यान्डर्ड्सको प्रयोग, फिल्डमा भइरहेका सकारात्मक अभ्यास, सुधार गर्नुपर्ने पक्ष तथा विपद् प्रभावित समुदायका लागि विशेष ध्यान दिनुपर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। त्यसैगरी, प्रभावकारी विपद् प्रतिकार्य, पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणमा गैरसरकारी क्षेत्रको भूमिका, सरकारसँगको साझेदारी, सहकार्य र समन्वय, प्रभावकारी सूचना प्रणाली तथा नीतिगत सवालहरूका साथै विपद् प्रभावित व्यक्ति तथा समुदायको आत्मसम्मान र मानवीय मर्यादा कायम राख्दै गुणस्तरीय मानवीय सहायता उपलब्ध गराउने विषयमा समेत गहन अन्तरक्रिया गरिएको थियो।

डिमानका सल्लाहकार डा. सुनिता शर्माले स्फेयर र मानवीय मापदण्डको बारेमा प्रस्तुति गरेकी थिइन । संवादमा विभिन्न महासंघ, सञ्जाल, नेटवर्क तथा गैरसरकारी संस्थाका गरी ५० वटा संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा गुणस्तरीय मानवीय सहायता, प्रभावकारी समन्वय र जवाफदेहिताका लागि नागरिक संस्थाहरूको साझा प्रयासलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया