

४ असोज बेइजिङ । कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई तीव्रता दिँदै चीनले एआई र लेजर प्रविधिबाट खेतबारीका झारपात नष्ट गर्ने मेशिनहरूको प्रयोग सुरु गरेको छ। देशका ठूला कृषि फार्महरूमा प्रयोग गरिएका कृत्रिम बौद्धिकता युक्त यस अत्याधुनिक मेशिनले कृषि र प्रविधिको क्षेत्रमा नयाँ आयाम थपेको छ।
हालै समाचार पोर्टल र सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा उक्त एआई लेजर-वीडिङ रोबोटले कृषि फार्मको खेतमा काम गरिरहेको दृश्य देखिएको छ। सो भिडियोमा रोबोटले बालीलाई कुनै पनि किसिमको क्षति नपुर्याई कसरी प्रभावकारी रूपमा अनाबस्यक झार नष्ट गर्छ भन्ने स्पष्ट रूपमा देखाइएको छ। सो मेशिनमा क्यामेरा, एआई प्रणाली र लेजर प्रविधि जडान गरिएको छ। मेशिनमा रहेको भिजन सिस्टमले बोटबिरुवाहरूको सूक्ष्म स्क्यानिङ गर्छ भने एआईले बाली र झारपात छुट्याएर बालीलाई सुरक्षित राख्दै झार नष्ट गर्ने गर्दछ।
घरेलु बजारमा सफलता पाएलगत्तै यो मेशिन अष्ट्रेलियालगायतका देशहरूमा समेत निर्यात भइसकेको चीनियाँ अधिकारीहरुले जनाएका छन। यसले अन्तर्राष्ट्रिय स्तरमा ठूला फार्महरूलाई झार नियन्त्रण गर्न ठूलो सहयोग पुर्याएको जनाइएको छ । यस प्रविधिले ठूला कृषि फार्महरूलाई विषादी पूर्ण रूपमा मुक्त राखेर झार नियन्त्रण गर्ने वैज्ञानिक विकल्प प्रदान गरेको चीनको दावी छ। कृषि विज्ञहरूका अनुसार यस किसिमका अत्याधुनिक मेशिनहरूको प्रयोगले रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै आधुनिक कृषि प्रणालीलाई थप दिगो, सुरक्षित र प्रभावकारी बनाउनेछ।

