

५ असोज, काठमाडौँ । संसदीय अभ्यास, विधायीकी प्रक्रिया र नेतृत्व विकासको अभ्यास गराउने उद्देश्यले आयोजित तीनदिने ‘पाठशाला नमुना संसद् २०८३’ विभिन्न गतिविधिहरूका सम्पन्न भएको छ।
पाठशाला प्रि युनी कार्यक्रमको आयोजनामा यहफ असोज २, ३ र ४ गते सञ्चालित यस कार्यक्रममा कक्षा ९ र १० का ३ सय ९ जना विद्यार्थीहरूले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए। नेपालको प्रतिनिधि सभाको संरचनालाई हुबहु झल्काउने गरी तयार गरिएको यस अभ्यासमा प्रत्यक्षतर्फका १६५ र समानुपातिकतर्फका ११० गरी कुल २७५ सांसदको भूमिकामा विद्यार्थीहरू देखिएका थिए। उनीहरूले आफैँले रोजेको निर्वाचन क्षेत्र र समसामयिक विषयमा अध्ययन गरी संसदमा प्रस्तुत भएका थिए।
मिनी संसद अभ्यास गर्न प्रतिनिधि सभामा जस्तै अर्थ, कानुन, न्याय तथा मानव अधिकार, राज्य व्यवस्था, पूर्वाधार विकास र शिक्षालगायत १० वटा विभिन्न संसदीय समितिहरू गठन गरिएका थिए। ती समितिहरूमा विद्यार्थीहरूले सभापति र सचिवको जिम्मेवारी सम्हाल्दै आन्तरिक छलफल र अनुसन्धान गरेका थिए। नमुना संसद्को सभामुखको भूमिकामा आभा शंकर र उपसभामुखको भूमिकामा नमन खरेलले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनीहरूको संयमित प्रस्तुति, स्पष्ट उच्चारण र समय व्यवस्थापनले नमुना सदनमा उपस्थित सबै अतिथिहरूलाई प्रभावित पारेको थियो। त्यस्तै, १७ सदस्यीय मन्त्रीमण्डलमा प्रधानमन्त्रीको भूमिका हर्षित सुनिल खेतानले निर्वाह गरेका थिए भने अर्थमन्त्रीमा अर्चितराज शर्मा र गृहमन्त्रीमा युगसा हुमागाई सहितका विद्यार्थीले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
संविधान दिवसको अवसर पारेर असोज ३ गते आयोजित विशेष सत्रलाई नमुना राष्ट्रपतिका रूपमा सारिका कार्कीले सम्बोधन गरेकी थिइन्। सो अवसरमा पूर्वउपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि र संविधानविद् डा. भीमार्जुन आचार्य विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको अर्को आकर्षण प्रतिपक्षी दलका नेताले सरकारका कामकारबाहीमाथि गरेको प्रभावकारी प्रस्तुती र प्रश्नोत्तर शैली रहेको थियो। अतिथिहरूले विद्यार्थीहरूको उच्च भाषिक दक्षता, आत्मविश्वास र संसदीय मर्यादा पालना गर्ने क्षमताको खुलेर प्रशंसा गरेका थिए।

असोज ४ गते आयोजित समापन समारोहमा पूर्वसभामुख देवराज घिमिरे प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य तोसिमा कार्की र सिर्जना श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएका थिए। उनीहरूले विद्यार्थीहरूको राजनीतिक चेतना र नेतृत्व विकासको स्तर देखेर प्रसन्नता व्यक्त गरे। उत्सव भुर्तेल र बिनित खड्काको स्रोतव्यक्ति रूपमा तथा पाठशालाका शिक्षकहरूको करिब तीन साताको मेहनतले कार्यक्रमलाई मर्यादित र प्रभावकारी बनाउन भूमिका खेलेको थियो। यस कार्यक्रममार्फत विद्यार्थीहरूले तर्क गर्ने कला, सहकार्य, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कार व्यावहारिक रूपमै सिक्ने अवसर पाएका छन्।
‘सार्थक शिक्षा, सार्थक जीवन’ भन्ने पाठशाला नेपाल फाउन्डेसनको मूल नारालाई यस कार्यक्रमले पूर्ण रूपमा चरितार्थ गरेको आयोजकको निष्कर्ष छ। कक्षाकोठाको चार दिवार भित्र हासिल सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनसँग जोड्दै ‘सिक्दै गर्दै, गर्दै सिक्दै’ भन्ने अवधारणालाई नमुना संसद् २०८३ ले व्यवहारमा उतारेको विद्यालयको भनाई छ। विद्यार्थीहरूका लागि यो औपचारिक कार्यक्रम मात्र नभएर भविष्यका सक्षम नागरिक र नेता उत्पादन गर्ने पाठशाला तथा जीवनोपयोगी सिकाइको सेतु बनेको विद्यालयले विश्वास व्यक्त गरेको छ।


