जुगलमा पर्यटक जोड्दै गाउँपालिका: ‘पर्यटन वर्ष २०८३’ मार्फत स्थानीय अर्थतन्त्र सबल बनाउने अभियान

जुगल क्षेत्रको पर्यटन प्रवर्द्धन तथा स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ 'जुगल पर्यटन वर्ष २०८३' आयोजना गरिने भएको छ ।

२१ असोज, सिन्धुपाल्चोक । जुगल क्षेत्रको पर्यटन प्रवर्द्धन तथा स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ ‘जुगल पर्यटन वर्ष २०८३’ आयोजना गरिने भएको छ ।

बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्ने जुगल गाउँपालिका राजधानी काठमाडौंबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । कुल ५९२ वर्ग किलोमिटर क्षेत्रफल फैलिएको यो गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका हो । यो पालिका काठमाडाैँबाट देखिने जुगल हिमालको काखमा र ब्रह्मायणी नदीको शिरमा रहेको छ । जलस्रोतको धनी यस पालिकामा साना तथा ठूला गरी करिब दुई दर्जन जलविद्युत आयोजना सञ्चालन वा निर्माणको चरणमा रहेका छन् । पालिकाको प्रमुख आकर्षणको केन्द्र विश्वविख्यात जुगल हिम श्रृङखला हो ।

यसै सन्दर्भमा जुगल गाउँपालिकाले सो क्षेत्रको मुहार फेर्ने उदेश्यले जुगल पर्यटन बर्षको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । जस अनुसार असोज २३ गते उद्घाटन समारोहसँगै जुगल पर्यटन वर्षको औपचारिक शुभारम्भ हुनेछ । कात्तिक पहिलो साता धार्मिक तथा स्थानीय युवा, विद्यालयका शिक्षक शिक्षिका, जनप्रतिनिधि तथा गाइडहरूलाई जलवायु तथा वातावरण परिवर्तनसम्बन्धी विशेष प्रशिक्षण दिइनेछ । त्यसैगरी कात्तिक १० देखि १९ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित आरोहीहरूद्वारा जुगल हिमालको ‘भ्यू प्वाइन्ट’ आरोहण गराउने योजना बनाइएको छ । कात्तिक ११ देखि १६ गतेसम्म गुम्बा, अम्बखर्क, लामोपोखरी, स्यावल पोखरी, ताप्कादिङ र नेपेमसालसम्मका पदमार्गहरूको सरसफाइ तथा पूर्वाधार अध्ययन गरिनेछ । कात्तिक १६ गते राष्ट्रियस्तरको धार्मिक तथा आध्यात्मिक सम्मेलन आयोजना गरिने पालिका अध्यक्ष रेम स्याङ्बोले जानकारी दिए । उनका अनुरार मंसिर महिनाभरि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।

मंसिर १६ गते उच्च हिमाली तथा पहाडी भूभागमा साहसिक हाइकिङ प्रतियोगिता सञ्चालन हुनेछ भने मंसिर २ देखि १५ गतेसम्म स्थानीय जनशक्तिलाई लक्षित गरी एडभान्स माउन्टेन गाइड तालिम प्रदान गरिनेछ । मंसिर २० गते कुम्भेश्वर मेलाको अवसरमा विशेष धार्मिक एवं सांस्कृतिक गतिविधिहरू आयोजना हुनेछन् । मंसिर १६ र १७ गते सांस्कृतिक महोत्सव तथा जुगल फुड फेस्टिबल आयोजना हुनेछ । यसमा गाउँपालिकाभिका विभिन्न जातजातिका झाँकी, भेषभूषा र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । यसैगरी मंसिर १७ गते साहसिक साइक्लिङ यात्रा तथा प्रदर्शनीत्मक इभेन्ट समेत आयोजना गरिने उपाध्यक्ष हिमाल श्रेष्ठले बताए ।

पर्यटन वर्षलाई थप विस्तार गर्दै पुष महिनामा गुम्बा तथा धार्मिकस्थलसँग सम्बन्धित कार्यक्रम, जुगल लगानी सम्मेलन, जलवायु परिवर्तन र पर्यटनसम्बन्धी ‘जुगल क्लाइमेट, कम्युनिटी एन्ड टुरिजम डाइलग’ आयोजना हुनेछ । यस लगानी सम्मेलनमार्फत पर्यटन पूर्वाधार, जलस्रोत, कृषि तथा उद्योग क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने मुख्य लक्ष्य राखिएको छ । पुष २५ र २६ गते समापन कार्यक्रम तथा जुगल बाइकिङ र्‍याली आयोजना हुनेछ । माघ र फागुन महिनामा माघ १ गते तिंकीभ्याङ महायान जात्रा, तांकी माङ जात्रा तथा पाङर्पुसम्मको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन् । प्रमुख प्रशासकीय अधिकृत गौरव राज के.सी. का अनुसार जुगल पर्यटन वर्षअन्तर्गत आयोजना हुने कार्यक्रमहरूले यस क्षेत्रका हिमाल, पदमार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय खानपान र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया