बूढीगण्डकीमा भीषण बाढी: चुमनुब्रीका ३५ घर बगे, आरुघाटदेखि त्रिशूली दोभानसम्म उच्च सतर्कता

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण ठूलो क्षति पुगेको छ।

२५ असोज काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण ठूलो क्षति पुगेको छ। आइतबार बिहान बूढीगण्डकी नदीमा उर्लिएको बाढीले चुमनुब्री गाउँपालिकाका पैयू र बगरगाउँका मात्रै करिब ३५ वटा घरहरू बगाएको छ। बाढीका कारण सो क्षेत्रका दोभान, घट्टेखोला, जगत र सल्लेरी लगायतका बस्तीहरूमा व्यापक क्षति पुगेको चुमनुब्री गाउँपालिकाले जनाएको छ। हालसम्म बाढीबाट भएको मानवीय क्षतिको कुनै विवरण प्राप्त नभए पनि तटीय क्षेत्रका बजार र भौतिक संरचनामा ठूलो नोक्सानी पुगेको छ।

बूढीगण्डकी नदीमा बाढीको बहाव निरन्तर बढ्दै जाँदा आरुघाट क्षेत्रमा जलसतहले खतराको तह पार गरिसकेको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले असोज २५ गते बिहान विशेष सूचना जारी गरी उच्च सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाका अनुसार बाढीको मुख्य बहाव पास नहुन्जेलसम्म आरुघाट क्षेत्रदेखि त्रिशूली दोभानसम्मको नदी छेउछाउ तथा तटीय क्षेत्रमा नजान र सुरक्षित तथा उच्च स्थानमा गएर बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

स्थानीय प्रशासन, प्रहरी र उद्धार टोलीहरू जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र बाढीको अवस्था अनुगमन गर्न खटिएका छन्। बाढीको जोखिम अझै कायमै रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन र आधिकारिक निकायबाट आउने सूचनाहरूको पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया