

२८ असोज, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति तथा पहिचानको संरक्षण र आर्थिक समृद्धिको लक्ष्यसहित आयोजना गरिएको ‘जुगल भ्रमण वर्ष २०८३’ को औपचारिक शुभारम्भ भएको छ।
श्री रत्नराज्य माध्यमिक विद्यालय, चनौटेको प्राङ्गणमा मंगलबार आयोजित विशेष समारोहकाबीच बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलले यसको शुभारम्भ गरे। कार्यक्रममा पूर्व सांसद माधव सापकोटा (सुबोध), बलेफी, लिसंखुपाखर, सुनकोशी लगायतका स्थानीय तहका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले उपस्थित सबै अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै जुगलको ऐतिहासिक अभियानमा जोडिन आह्वान गरे।
गाउँपालिकाको २०औँ गाउँसभाबाट चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘जुगल भ्रमण वर्ष’ को रूपमा मनाउने निर्णय गरिएअनुसार यो अभियान सञ्चालनमा ल्याइएको हो। काठमाडौँबाट सबैभन्दा नजिकको हिमाली गन्तव्यका रूपमा रहेको जुगल गाउँपालिका प्राकृतिक सौन्दर्य, हिमाल, ताल, झरना, जैविक विविधता तथा विशिष्ट स्थानीय संस्कृतिले समृद्ध क्षेत्र हो। यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित, आकर्षक र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै बृहत् जलवायु संवादका माध्यमबाट हिमाली पर्यावरण संरक्षण र जलवायु सचेतनाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने मुख्य उद्देश्य राखिएको छ।
उद्घाटन समारोहका प्रमुख अतिथि मन्त्री पौडेलले जुगल हिमालसहित यस क्षेत्रका सम्भावित पर्यटकीय गन्तव्यहरूको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय जैविक विविधता, रैथाने सीप र प्रविधिको प्रयोगमार्फत पर्यटनलाई स्थानीयको रोजगारी र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिए। साथै, रत्नराज्य माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा व्यवस्थित बनाउन पहल गर्ने र बाढीबाट प्रभावित बालबालिकाको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने घोषणासमेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद सापकोटाले भ्रमण वर्ष शुभारम्भको दिन जुगल गाउँपालिकाका लागि दूरगामी महत्त्वको दिन बनेको बताए। गाउँपालिकाको आयोजनामा ‘गन्तव्य जुगल’ को आधारस्तम्भका रूपमा सुरु गरिएको यस अभियानले जुगलको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने विश्वास व्यक्त गर्दै उनले काठमाडौँबाट सबैभन्दा नजिक पर्ने जुगल हिमालको आधार शिविर (बेसक्याम्प) सम्म पुग्ने मार्गको व्यापक प्रचार-प्रसार गर्दै पर्यटन व्यवसायी, स्थानीय बासिन्दा र सम्पूर्ण सरोकारवालाहरूलाई हातेमालो गरेर अघि बढ्न आह्वान गरे। स्थानीय बासिन्दाहरूले जुगल हिमाल आरोहण खुलाउने कामको नेतृत्वकर्ताका रूपमा पूर्व सांसद सापकोटाप्रति आभार व्यक्त गरेका थिए।
भ्रमण वर्ष अभियानअन्तर्गत जुगल म्याराथन, हिमाल आरोहण, ट्रेकिङ, साइक्लिङ तथा मोटर बाइकिङ जस्ता साहसिक खेलकुदका कार्यक्रमहरू आयोजना गरिनेछन्। सांस्कृतिक पक्षतर्फ धार्मिक तथा सांस्कृतिक महोत्सव, गुम्बा शिर्डो, लामा नाच र फुड फेस्टिभल सञ्चालन गरिनेछ। वातावरणीय सचेतनाका लागि “जुगल जलवायु संवाद”, जलवायु सम्बन्धी वृत्तचित्र प्रदर्शन र हरित पर्यटन तालिमका कार्यक्रम राखिएका छन्। यसैगरी पर्यटन प्रवर्द्धनका लागि भेटघाट, नयाँ पदमार्ग अध्ययन, आतिथ्य व्यवस्थापन तालिम र पर्यटन सूचना केन्द्र स्थापना गरिने योजना छ।
पर्यटकहरूलाई आकर्षित गर्न गाउँपालिका क्षेत्रभित्र प्रवेश शुल्क, पदयात्रा अनुमतिपत्र र संरक्षण क्षेत्र शुल्कमा विशेष छुट दिइनेछ। साथै स्थानीय होटल तथा होमस्टेमा खानपिन र बासका लागि विशेष छुट प्याकेज, स्थानीय अर्गानिक कृषि उपज तथा हस्तकला खरिदमा सहुलियत, आपत्कालीन उद्धार समन्वय, पदमार्गमा स्वास्थ्य शिविर तथा अक्सिजनको व्यवस्था र यात्राको सुरक्षाका लागि डिजिटल सहायता प्रणाली तयार गरिनेछ। काठमाडौँबाट जुगलसम्म पुग्न सुलभ र पर्यटनमैत्री सार्वजनिक यातायातको व्यवस्थाका लागि यातायात व्यवसायीहरूसँग समन्वय गरिनेछ।
समारोहमा शेर्पा, तामाङ, बाहुन र क्षेत्री समुदायका तर्फबाट परम्परागत झाँकी तथा खैजेडी नाच प्रस्तुत गरिएको थियो। त्यसैगरी गायकहरू प्रेम लोप्चन, आस्मान लोप्चन र प्रितम गोले लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा आगामी पुस महिनासम्म सञ्चालन गरिने विविध पर्यटकीय तथा सांस्कृतिक क्रियाकलापबारे पनि जानकारी गराइएको थियो।

