यसपालिको दशैं घमाइलो हुने, कतै-कतै हल्का वर्षा, हिमपात र चट्याङ्गको सम्भावना

यस वर्षको दशैँ अवधिभर मौसम मुख्यतया घमाइलो र सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

३१ असोज, काठमाडौँ। यस वर्षको दशैँ अवधिभर मौसम मुख्यतया घमाइलो र सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको ‘दशैँ विशेष मौसम बुलेटिन’ अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको छ। नेपालमा मनसुन पूर्ण रूपमा बाहिरिइसकेको छ ।

फूलपातीका दिन (असोज ३१ गते शनिबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी भू-भागका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस दिन देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। सोही राति देशको हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लागी बाँकी पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाअष्टमीका दिन (कात्तिक ०१ गते आइतबार) दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उक्त दिन दिउँसो देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। सोही राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ भने कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

नवमी, दशमी र एकादशीका दिनहरूमा (कात्तिक ०२, ०३ र ०४ गते) कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसम विभागले यात्रा गर्दा र दशैँ मनाउँदा हिमाली तथा पहाडी क्षेत्रका सीमित स्थानहरूमा हुन सक्ने हल्का वर्षा, चट्याङ्ग र हिमपातप्रति सतर्कता अपनाउन र अद्यावधिक मौसम सम्बन्धी जानकारी लिइराख्न अनुरोध गरेको छ।

प्रतिक्रिया