अर्नब चक्रवातको प्रभावले कार्तिक १२ देखि १४ सम्म भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कताको आग्रह

बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

१२ कार्तिक काठमाडौं, – बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यसको प्रभावले आज, कार्तिक १२ गते बिहीबारदेखि कार्तिक १४ गते शनिबारसम्म देशका विभिन्न भागमा भारी वर्षा, हिमपात, हावाहुरी र चट्याङको जोखिम रहेको छ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोष्ट मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार उक्त चक्रवात कार्तिक ११ गते भारतको जमिनी भूभागमा प्रवेश गरेको छ। विश्लेषणअनुसार यसको प्रभाव कार्तिक १२ गते बिहीबार साँझदेखि सुरु हुने देखिएको छ।

विशेषगरी कार्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने प्राधिकरणले जनाएको छ। यी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम पनि रहेको छ।

जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली काट्ने र भित्र्याउने जस्ता कृषि कार्य कार्तिक १२ गते, बिहीबारअगावै सक्न सुझाइएको छ। पर्यटक तथा उच्च पहाडी र हिमाली क्षेत्रमा गएकाहरूलाई उक्त अवधिभर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। आवश्यक परे सवारी आवागमन बन्द गर्ने र बन्द गर्नुअघि सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पुर्‍याउन पनि प्राधिकरणले भनेको छ।

सडक तथा हवाई यातायातमा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र अत्यावश्यक नपरी यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ। सम्बन्धित संघीय मन्त्रालय, निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनै सुरक्षा निकाय र स्वयंसेवकलगायत सरोकारवाला निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकले पूर्वसूचनाअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने प्राधिकरणले जनाएको छ। साथै, प्राधिकरण तथा नेपाल मौसम विज्ञान विभागलगायतले जारी गर्ने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीको पालना गर्न आग्रह गरिएको छ। मौसमसम्बन्धी जानकारीका लागि १९५५ र विपद्मा मद्दत माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया