सिन्धुपाल्चोकमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान कात्तिक १९ गतेदेखि सुरु हुने

नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले यही कार्तिक १९ गते राष्ट्रिय जागरण अभियानको सुरुआत गर्ने निर्णय गरेको छ।

१७ कार्तिक सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले यही कार्तिक १९ गते राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्ने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको जिल्ला कार्यालयका उपलब्ध नेता तथा कार्यकर्ताहरूको बैठकले सो निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार, आगामी कात्तिक १९ गते चौतारास्थित सहिद स्मृति भवनमा बिहान ११ बजे एक विशेष समारोहकाबिच राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरिनेछ ।

संगठन सुदृढीकरण, पार्टी निर्माण र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको यस अभियानका लागि सिन्धुपाल्चोकका केन्द्रीय सदस्यहरूले पालिका स्तरको र प्रदेश सदस्यहरूले वडा स्तरको जिम्मेवारी लिएर अभियान सञ्चालन गर्ने तय भएको छ। अभियानको तयारीस्वरूप हालका वडा तथा पालिका कमिटीहरूलाई आयोजक समितिमा रूपान्तरण गरिएको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तय गरेको सांगठनिक कार्यतालिका अनुसार देशभरका सबै वडाहरूमा आगामी पुस ११ गते एकैदिन वडा अधिवेशन सम्पन्न गरिनेछ। त्यसैगरी, आगामी माघ १५ गते पालिकास्तरीय अधिवेशन गर्ने निर्णय भएको छ।

स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने पार्टीको निर्णय रहेको छ। नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति, सिन्धुपाल्चोकले कात्तिक १९ गते चौतारामा हुने उद्घाटन कार्यक्रममा सम्पूर्ण नेता, कार्यकर्ता तथा कमरेडहरूलाई एकताबद्ध भएर सहभागी हुन हार्दिक आह्वान गरेको छ।

प्रतिक्रिया