बगर–चोकटी जोड्ने सुनकोशी मोटरेबल पुलको मन्त्री पौडेलद्वारा शिलान्यास

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. २ बगर र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटी (लाटु) जोड्ने बगर सुनकोशी मोटरेबल पुलको औपचारिक शिलान्यास गरिएको छ।

२१ कार्तिक सिन्धुपाल्चोक । ​सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. २ बगर र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटी (लाटु) जोड्ने बगर सुनकोशी मोटरेबल पुलको औपचारिक शिलान्यास गरिएको छ।

​बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार मोटरेबल पुल शिलान्यास सम्पन्न भएको हो। शिलान्यास कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्व सांसद माधव सापकोटा ‘सुबोध’, नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, लालकान्छा तामाङ, भीमप्रसाद पराजुली, अनन्तप्रकाश श्रेष्ठ, चित्रबहादुर तामाङ तथा त्रिपुरासुन्दरी वडा नम्बर १ का वडा अध्यक्ष सिताराम थापालगायत स्थानीय जनप्रतिनिधि एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको यस क्षेत्रको सडक तथा पुल पूर्वाधार निर्माणले स्थानीय नागरिकको आवागमन सहज बनाउनुका साथै धार्मिक स्थल तथा पर्यटकीय गन्तव्यसम्मको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

​कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पुल निर्माणको कामलाई उच्च प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिए । उनले निर्माण कार्यमा ढिलासुस्ती नगर्न, आवश्यक जनशक्ति तथा निर्माण सामग्री पूर्ण रूपमा परिचालन गर्न र निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे । ​प्रदेश सरकारले तत्कालीन आवश्यकता पूरा गर्ने आयोजनासँगै दीर्घकालीन महत्व र उपयोगिता राख्ने पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै मन्त्री पौडेलले सडक तथा पुलजस्ता पूर्वाधारले स्थानीय नागरिकको जीवन सहज बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया