जनताका मागमा ठाउँको ठाउँ तोक: बागमतीका अर्थमन्त्री सरल सहयात्री पौडेलको अनौठो शैली

उनी मागपत्र बुझेपछि ठाउँको ठाउँ तोक लगाएर निर्णय प्रक्रिया अघि बढाउने अभ्यास गरिरहेका छन्। सम्भव हुने काममा तत्काल स्वीकृतिका लागि तोक लगाउने र नहुने काममा झुक्याउने वा झुटा आश्वासन नदिने उनको यो स्पष्ट र पारदर्शी शैलीले सर्वसाधारणलाई उत्साहित बनाएको छ।

२१ कार्तिक सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल आजभोलि विकास निर्माणका काम, शिलान्यास तथा अन्तरक्रिया कार्यक्रमका लागि निरन्तर जिल्ला दौडाहामा व्यस्त देखिन्छन्। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, चितवन, मकवानपुरदेखि सिन्धुलीसम्मका जिल्लाहरूमा उनी जहाँ पुग्छन्, त्यहाँ स्थानीय जनता, जनप्रतिनिधि र विभिन्न समुह माग तथा ज्ञापनपत्र दिनेहरूको घुइँचो लाग्ने गर्छ ।

सामान्यतया, सर्वसाधारण वा स्थानीय तहका प्रतिनिधिले बुझाएका मागपत्रहरू मन्त्रालयका घर्रामा थन्किने र “हुन्छ, विचार गरौँला” भन्दै आश्वासनमा सीमित हुने परिपाटी नेपाली राजनीतिमा नौलो होइन तर अर्थमन्त्री पौडेलको कार्यशैली भने फरक छ। उनी मागपत्र बुझेपछि ठाउँको ठाउँ तोक लगाएर निर्णय प्रक्रिया अघि बढाउने अभ्यास गरिरहेका छन्। सम्भव हुने काममा तत्काल स्वीकृतिका लागि तोक लगाउने र नहुने काममा झुक्याउने वा झुटा आश्वासन नदिने उनको यो स्पष्ट र पारदर्शी शैलीले सर्वसाधारणलाई उत्साहित बनाएको छ।

यस्तै एक उदाहरणीय दृश्य २०८३ साल कात्तिक २० गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ स्थित बुधेपामा देखियो। सुनकोशी बगरमा पक्की पुल शिलान्यासका क्रममा पुगेका मन्त्री पौडेललाई त्रिपुरासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष सिताराम थापाले क्षेत्रको सडक स्तरोन्नति तथा बजेट निरन्तरता सम्बन्धी मागपत्र बुझाएका थिए। मन्त्री पौडेलले उक्त पत्र खल्तीमा हालेर मन्त्रालय लैजानुको साटो ठाउँको ठाउँमै रातो कलमले “आवश्यक कारबाहीका लागि” भन्दै ठाउँको ठाउँ तोक लगाएका थिए। उनको यो शैलीको चर्चा हुन थालेको छ ।

२०३८ साल असोजमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका सरल सहयात्री पौडेल १८ वर्षकै उमेरमा विद्यार्थी राजनीति हुँदै तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्धमा होमिएका थिए। १० वर्षे जनयुद्धका क्रममा आफ्ना दाजु शम्भु पौडेल र बहिनी रीता पौडेललाई गुमाएका उनी जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर तहसम्म पुगेर नेतृत्वदायी भूमिका निभाएका नेता हुन्। युद्ध मैदानमा जस्तै द्रुत निर्णय लिने क्षमता र अनुशासन अहिले उनको प्रशासनिक तथा राजनीतिक कार्यशैलीमा झल्किन्छ।

राजनीतिज्ञका साथै साहित्यिक परिचय बनाएका पौडेलका ‘क्रान्तिका कथाहरू’, ‘छापामारका गीत’ र ‘शिखरको ढुङ्गा’ जस्ता कृतिहरू प्रकाशित छन्। जनमुक्ति सेनाको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका उनी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भई बागमती प्रदेश सभा सदस्य र हाल अर्थमन्त्रीको जिम्मेवारीमा छन्। आफ्नो छोटो कार्यकालमै उनले भोटेकोशी बाढी प्रभावित बालबालिकाको नि:शुल्क शिक्षाको व्यवस्थापन तथा तटीय क्षेत्रमा जनधनको क्षति रोक्न प्रमुख नदीहरूमा पूर्व सूचना प्रणाली जडान गर्ने जस्ता रचनात्मक र जनमुखी योजनाहरू प्राथमिकताका साथ अगाडि बढाएका छन्। उनको यो ‘ठाउँको ठाउँ निर्णय लिने’ शैलीले आम जनतामा सुशासनको नयाँ अनुभूति गराएको छ।

प्रतिक्रिया