तातोपानी नाका तत्काल पूर्ण सञ्चालनमा ल्याउन कूटनीतिक पहलका लागि सरोकारवालाको जोड – फोटो फिचर

भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

२७ कात्तिक, काठमाडौँ – भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का निवर्तमान सांसद माधव सापकोटाको समन्वयमा बिहिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, परराष्ट्रविद, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्र सञ्चालन हुँदा व्यवसायी र स्थानीय नागरिक मर्कामा परेको बताएका थिए। उनीहरूले नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारको तर्फबाट पर्याप्त कूटनीतिक चासो नदेखिएको गुनासो गर्दै तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिएका हुन्।
अन्तरक्रियामा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकार एवं परराष्ट्रविद डा. रूपक सापकोटाले आफूहरूले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा चीनमा भेटवार्ता गरेर फर्किएको जानकारी गराएका थिए।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वमा समेत रहेका निवर्तमान सांसद सापकोटाले चिनियाँ नेतृत्वसँगको छलफलमा नाका पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा उठाइएको बताए। चिनियाँ पक्षले यस विषयलाइ गम्भीरतापूर्वक लिएर तातोपानी नाका पूर्ण रूपमा सुचारु गर्ने विषयमा सकारात्मक रहेको जानकारी दिएको उनको भनाइ थियो। चीनले स‌भावित बाढी र हिमताल विस्फोटको सुरक्षा जोखिमका साथै नाका नजिकैको ‘इको पहिरो’ का कारण पटक–पटक सडक अवरुद्ध हुने समस्याप्रति नेपालको धारणा समेतमा चासो व्यक्त गर्ने गरेको छ।
छलफलका क्रममा भोटेकोशी बाढीपछि सीमा क्षेत्रका बस्ती र पूर्वाधारहरू जोखिमयुक्त छन् भन्ने सन्देश प्रवाह भएकाले त्यसलाई उचित समाधान खोज्दै विपद् व्यवस्थापन र भौतिक पूर्वाधार सुधारमा ठोस काम गर्नुपर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहायत्री पौडेलले प्रदेशभित्रका हिमनदीबाट मुहान भई बग्ने नदी किनारका बस्तीहरूको सुरक्षाका लागि प्रदेश सरकारले छिट्टै अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गर्न लागेको जानकारी गराए। भोटेकोशी बाढीले निम्त्याएको जस्तो विपत्ति भविष्यमा नदोहोरियोस् र नदी किनारका बस्तीका बासिन्दा त्रासैत्रासमा बाँच्नु नपरोस् भनेर प्रदेश सरकार संवेदनशील भएर काम गरिरहेको उनको भनाइ थियो।
नेपाल–चीन मामिलाका विज्ञ समेत रहेका परराष्ट्रविद डा. सापकोटाले तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि उच्चस्तरीय कूटनीतिक पहलका साथ दुई देशबीच आपसी विश्वास बढाउन आवश्यक रहेको बताएका थिए।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा भएको अन्तरक्रियामा सिन्धुपाल्चोकबाट बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, चीनसँग सीमा जोडिएको जुगल गाउँपालिकाका अध्यक्ष, भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष, सीमा जोडिएका भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठ र वडा नं. ३ का अध्यक्ष निमा सोना शेर्पा, नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारी तथा नेपाल ट्रक कन्टेनर व्यवसायी संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आफू जनप्रतिनिधि हुँदा भूकम्प र कोभिडका कारण बन्द तातोपानी नाका खुलाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका निवर्तमान सांसद सापकोटा अघिल्लो साता तातोपानी नाका क्षेत्र पुगेर स्थानीय बासिन्दा र अध्यागमनका अधिकारीहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया