

२८ कार्तिक , सिन्धुपाल्चोक -बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले प्रदेश लोकमार्गअन्तर्गतको सुकुटे–मिलडाँडा–बाघभैरव–वाफल–लिसंखु–घ्याङडाँडा–२१ किलो सडकको स्तरोन्नति तथा कालोपत्रे कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
मन्त्री पौडेलले निवर्तमान संघीय सांसद माधव सापकोटा, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा तथा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको प्राविधिक टोलीसहित सुनकोसी गाउँपालिका वडा नं. १ र २ तथा लिसंखुपाखर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डको स्थलगत निरीक्षण तथा अवलोकनका क्रममा यस्तो प्रतिवद्वता व्यक्त गरेका हुन ।
निरीक्षणका क्रममा मन्त्री पौडेलले सो सडकलाई स्थानीय नागरिकको आवागमन सहज बनाउने मार्गका रूपमा मात्र नभई समग्र क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा लिनुपर्ने धारणा राखेका थिए । दीर्घकालीन आवश्यकतालाई मध्यनजर गर्दै बहुवर्षीय योजनामार्फत निर्माण तथा कालोपत्रे गर्ने गरी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।
मुख्य सडकसँग जोडिएका शाखा सडकहरूको समेत स्तरोन्नति गरी ग्रामीण बस्तीहरूलाई सहज यातायातको पहुँचमा ल्याउने विषयलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए। विकासका पूर्वाधार निर्माण गर्दा मुख्य सडकसँगै त्यसले जोड्ने बस्ती, स्थानीय उत्पादन, बजार तथा पर्यटकीय गन्तव्यलाई समेत समेट्नुपर्नेमा मन्त्री पौडेलले जोड थियो ।
सोही क्रममा मन्त्री पौडेलले लिसंखुपाखर गाउँपालिका–२, घ्याङडाँडास्थित झ्याङछ्यु छ्योइलिङ गोन्पाको समेत निरीक्षण तथा अवलोकन गरेका छन । सो अवसरमा निर्माणाधीन तथा अधुरा रहेका पूर्वाधारहरू सम्पन्न गर्ने र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूको संरक्षण एवं प्रवर्द्धनमार्फत पर्यटकीय सम्भावनालाई उजागर गर्ने विषयमा समेत छलफल भएको छ।
स्थलगत निरीक्षणका क्रममा स्थानीय आवश्यकताको पहिचान, निर्माणाधीन योजनाको अवस्था र विकासका प्राथमिकताबारे जानकारी लिँदै मन्त्री पौडेलले योजनाको छनोटदेखि कार्यान्वयनसम्म स्थानीय नागरिकको आवश्यकता र प्रत्यक्ष लाभलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रदेश सरकारको सीमित स्रोतसाधनलाई अधिकतम प्रतिफल दिने गरी परिचालन गर्दै वर्षौंदेखि अपेक्षा गरिएका विकासका पूर्वाधारलाई योजनाबद्ध रूपमा अघि बढाउनु आफ्नो प्राथमिकता रहेको मन्त्री पौडेलको प्रतिबद्धता छ।

