

१ मंसिर, काठमाडौँ – सूर्य उपासना र लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका नदी, तलाउ, पोखरी तथा जलाशय किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई अत्यन्तै श्रद्धा, निष्ठा र भक्तिपूर्वक मनाइँदै छ। कात्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट सुरु भई शनिबार ‘खरना’ सम्पन्न गरेपछि आज षष्ठी तिथिमा व्रतालुहरूले ३६ घण्टे कठोर निर्जला व्रत बसी साँझपख अस्ताचलगामी सूर्यलाई र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई दूध तथा जलको अर्घ्य अर्पण गरेपछि यो चार दिवसीय अनुष्ठान विधिवत् रूपमा समापन हुने गर्दछ।
बाँसको ढाकी, नाङ्लो र कोनियाँमा ठेकुवा, भुसुवा, केरा, उखु, अदुवा, नरिवल, बेसार, मूला लगायतका कृषि उपज तथा मौसमी फलफूल सजाएर दुलहीझैँ सिङ्गारिएका छठ घाटहरूमा परिवारजनसहित भेला भई रातभर छठी माताको महिमा गान गर्दै जाग्राम बस्ने परम्परा रहेको छ। विशेषगरी तराई–मधेशको जनकपुरधाम, वीरगञ्ज, विराटनगर लगायतका क्षेत्रमा भव्यताका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यकाको गुह्येश्वरी, कमलपोखरी, थापाथली, बागमती र विष्णुमती किनारसहित पहाडी तथा हिमाली जिल्लाहरूमा समेत व्यापक रूपमा विस्तार भई सामाजिक सद्भाव, आपसी भाइचारा र राष्ट्रिय एकताको बलियो प्रतीक बन्दै गएको छ। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै छठ पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्दै मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धि ल्याउन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन । सरकारले पर्वको उत्सव र व्रतालुहरूको सहजताका लागि भोलि सोमबारसमेत देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

