तातोपानी: सधैँ बन्दको डर, खुलाउन विश्वाशिला नेताकै भर

सिन्धुपाल्चोकका बासिन्दा र व्यवसायीका लागि यो नाका जीविका र अस्तित्वसँग जोडिएको छ, उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तुको मूल्य र आपूर्तिसँग जोडिएको छ । राष्ट्रका लागि राजस्व र व्यापार सन्तुलनसँग जोडिएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले हज्जारौँ मानिससँगै रसुवागढीको टिमुरे बजार, भन्सार र अध्यागमन कार्यालय नै बगायो। त्यसको चार दिनपछि, भदौ १४ गते, चिनियाँ पक्षले इमेलमार्फत तातोपानी नाका पनि अर्को सूचना नआएसम्मका लागि बन्द गरेको जानकारी दियो। दुई प्रमुख उत्तरी नाका एकैसाथ ठप्प हुँदा नेपालको चीनतर्फको स्थलमार्ग व्यापार मुस्ताङको कोरलामा सीमित हुन पुगेको छ। काठमाडौँबाट तातोपानी करिब ११४ किलोमिटर दूरीमा पर्छ भने कोरला करिब ४७० किलोमिटर टाढा छ। बाढी र अवरोधका कारण दसैँ, तिहार र छठजस्ता चाडपर्वका लागि मगाइएका सामान सीमापारि रोकिए; यद्यपि दसैँका बेला तीन दिन अस्थायी रूपमा नाका खोलियो।

अहिले डिसेम्बरको पहिलो साता अर्थात मंसिर २० गतेको आसपासबाट नाका पुनः सञ्चालनमा आउन सक्ने चर्चा चलेको छ । तातोपानी नाकाको अनिश्चितता कुनै नौलो घटना भने होइन । हजारौँ वर्षदेखिको व्यापारिक परम्परा र आधुनिक सडक विस्तारसँगै जोडिएको यो नाकाको इतिहास खुल्ने र बन्द हुने क्रमकै कथा हो।

हजारौँ वर्ष पुरानो बाटो

भोटेकोशीको किनारैकिनार तिब्बत पुग्ने यो मार्ग नेपाल र तिब्बतबीचको सबैभन्दा प्राचीन आवतजावत तथा व्यापारिक मार्गमध्ये एक हो। हिमालपारिको नुन र हिमालवारिको अन्न तथा खाद्यान्न साटासाट गर्ने लस्कर यही बाटो हुँदै ओहोरदोहोर गर्थे। सिन्धुपाल्चोक र आसपासका गाउँले किसान पुस्तौँदेखि नुन ल्याउन भोट पुग्ने परम्परा आज पनि स्मृतिमा ताजै छ।

इतिहासमा यही बाटोको नाम पटक पटक आउँछ। सातौँ शताब्दीमा राजकुमारी भृकुटी तिब्बत जाँदा र तेह्रौँ शताब्दीमा शिल्पी अरनिको तिब्बत हुँदै चीन पुग्दा यही कोदारी कुती हिमाली मार्ग प्रयोग गरेको ऐतिहासिक मान्यता छ। नेपाल र तिब्बतबीचको सांस्कृतिक, कूटनीतिक र व्यापारिक सम्बन्धको मुख्य नसा यही मार्ग रहँदै आएको छ। त्यतिबेला नेपाल तिब्बत व्यापारको प्रमुख केन्द्र कुती थियो । पछि खासा बजार विकसित भएपछि र सडक पुगेपछि व्यापारिक केन्द्र कुतीबाट खासामा सर्यो । यसले पैदलै कुती पुग्नुपर्ने बाध्यता हट्यो।

राजमार्गसँगै आधुनिक नाका

परम्परागत गोरेटोबाट आधुनिक तातोपानी नाकाको रूप लिने क्रम राजमार्ग निर्माणसँगै सुरु भयो। सन् १९६१ अक्टोबर १५ मा बेइजिङमा तत्कालीन परराष्ट्रमन्त्री डा. तुल्सी गिरी र चिनियाँ परराष्ट्रमन्त्री चेन यीले कोदारी राजमार्ग बनाउने समझदारीपत्रमा हस्ताक्षर गरे। यसको निर्माण कार्य सन् १९६२ जुलाई १ बाट थालियो। चार वर्षमा सक्ने लक्ष्य लिइए पनि एक वर्ष थपिएर चीन सरकारको करिब ३५ लाख पाउन्ड स्टर्लिङ सहयोगमा यो सडक तयार भयो।

सन् १९६७ जुनमा राजा महेन्द्रले अरनिको राजमार्गको उद्घाटन गरे (नेपाली मितिअनुसार २०२४ सालदेखि यो राजमार्ग औपचारिक रूपमा सञ्चालनमा आयो)। यही राजमार्ग बनेपछि तातोपानी नाका आधुनिक व्यापारिक नाकाका रूपमा खुल्यो। काठमाडौँ कोदारी ११४ किलोमिटरको यो सडक नेपाल र चीनलाई जोड्ने पहिलो राजमार्ग हो। कोदारीदेखि बाह्रबिसेसम्मको खण्ड डरलाग्दो भीरमा खनिएको थियो; चिनियाँ प्राविधिक तथा कामदार खटिएर बाटो खनेको वृत्तान्त त्यतिबेलाका संस्मरणहरूमा पाइन्छ। बाह्य प्रभाव र साम्यवाद भित्रिने आशङ्कामा प्रश्न उठ्दा राजा महेन्द्रले “नेपालमा कार चढेर साम्यवाद आउँदैन” भनेर दिएको अभिव्यक्ति अझै बेला बेलामा चर्चामा आउँछ।

अरनिको राजमार्गपछि सिन्धुपाल्चोक

राजमार्गले सिन्धुपाल्चोकको सामाजिक र आर्थिक भूगोल नै बदल्यो। बाह्रबिसे, लार्चा र तातोपानी भन्सार, ढुवानी, होटल, गोदाम र भरियाको पेसामा आश्रित चहलपहलपूर्ण बजार बने। कुनै समय तातोपानी भन्सार कार्यालय सञ्चालन गर्न ८० देखि ८५ जना कर्मचारी खटिन्थे । नाका लामो समय बन्द रहँदा यो संख्या घटेर १४ जनामा झर्यो र तातोपानी बजार सुनसान बन्यो।  २०७२ वैशाख १२ को महाभूकम्पपछि भोटेकोशीको तातोपानी क्षेत्र फेरि पहिलेकै लयमा खुल्ने हो कि होइन भन्ने अन्योलपूर्ण अवस्था सिर्जना भयो। तैपनि नाका खुलाउने प्रयास रोकिएन। एकातिर सडकले स्थानीयलाई रोजगारी र आम्दानीको बाटो दियो भने अर्कातिर त्यही भूगोल जोखिमको स्रोत बन्यो । भूकम्प, बाढी र पहिरोले बारम्बार यही बाटोमा क्षति पुर्याइरहे।

खुल्दा र नखुल्दाको आर्थिक हिसाब

चीनतर्फबाट तयारी पोसाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, कृषि औजार, जुत्ता, फर्निचर, खेलौना, फलफूल, विद्युतीय सवारी, कम्प्युटर पार्ट्स तथा विभिन्न उद्योगका कच्चा पदार्थ आयात हुन्छन्। अघिल्लो आर्थिक वर्ष तातोपानी भन्सारबाट १४ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षका लागि २५ अर्ब रुपैयाँको लक्ष्य राखिएको छ । केही वर्षअघिसम्म वार्षिक राजस्व करिब ६ अर्ब रुपैयाँको हाराहारीमा थियो।

दूरी र समयका हिसाबले तातोपानी निकै सहज छ । यहाँबाट काठमाडौँ सामान पुग्न चार–पाँच घण्टा लाग्छ, कोरलाबाट कम्तीमा दुई तीन दिन लाग्छ। व्यवसायीहरूका अनुसार तातोपानी हुँदै करिब ६० हजार रुपैयाँमा काठमाडौँ आइपुग्ने एक कन्टेनर सामान कोरलाबाट ल्याउँदा ६ लाख रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ। यो बढेको लागत अन्ततः उपभोक्ताको मूल्यमा जोडिन्छ।  नाका अवरुद्ध हुँदा राजस्व संकलनमा सीधै असर परेको छ । साउन महिनामा सडक अवरुद्ध हुँदा १ अर्ब ७६ करोडको मासिक लक्ष्य २ करोड ८९ लाख रुपैयाँमा झरेको थियो । निर्यातको अवस्था झन् चिन्ताजनक छ। भूकम्पयता चीनतर्फको स्थलमार्गबाट हुने निर्यात न्यून छ । व्यापारिक अवरोधका बीच पनि यो नाकाबाट दैनिक ५० देखि १०० जना चिनियाँ पर्यटक नेपाल भित्रने गरेका छन्।

कुन नाका कति सहज

नेपाल–चीन सीमामा अन्य नाकाहरू पनि भए पनि अधिकांश निश्चित मौसममा मात्र खुल्छन्। ओलाङचुङगोला, दोलखाको लप्ची–फलाकजस्ता नाका काठमाडौँबाट निकै टाढा र दुर्गम छन्। त्यसैले नियमित रूपमा ठूलो परिमाणमा स्थलमार्ग व्यापार हुने मुख्य नाका तातोपानी र रसुवागढी नै हुन्। यी दुवै नाका अवरुद्ध हुँदा कोरला मात्र विकल्प बनेको छ।  

नाकाकाठमाडौँबाट दूरीअवस्था र पूर्वाधारप्रमुख विशेषता / चुनौती
तातोपानीकरिब ११४ किमिव्यापारिक आवागमन अवरुद्ध; मर्मत र कूटनीतिक पहल जारीछोटो दूरी, पुरानो बाटो; बाह्रबिसे–तातोपानीको २६ किमि खण्डमा पहिरो र कटानको जोखिम
रसुवागढीकरिब १५३ किमिभदौ १० को बाढीले संरचना र सडक बगाएपछि अवरुद्धपूर्व–प्रमुख व्यापारिक नाका; संरचना पुनर्निर्माण नहुँदा तत्काल सञ्चालन कठिन
कोरलाकरिब ४७० किमिवैकल्पिक मार्गका रूपमा सञ्चालनमादूरी लामो र ढुवानी महँगो; कतै कालोपत्रे कतै ग्राभेल, भन्सार पूर्वाधार अझै अपूर्ण

तातोपानी नाका उपयुक्त हुनुका आधार स्पष्ट छन् । यो काठमाडौँबाट सबैभन्दा छोटो दूरीमा छ ।  ऐतिहासिक मार्ग र सहज पहुँच छ । बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर खण्डमा पहिरो र भोटेकोशीको कटानको जोखिममा ध्यान पुग्नु पर्ने देखिन्छ ।  

भूकम्पदेखि कोभिडसम्मको उतारचढाव

२०७२ वैशाख १२ र २९ का भूकम्पले तातोपानी नाका र खासा बजार तहसनहस पारे। भौगर्भिक जोखिम देखाउँदै चीनले नाका बन्द गर्यो र २०७३ मा भोटेकोशीमा आएको बाढीले थप क्षति पुर्यायो। दुवै देशले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेपछि २०७६ जेठ १४ मा आयात निर्यातका लागि नाका सीमित रूपमा पुनः खुल्यो। त्यतिबेला नाका खुलाउन तत्कालीन सत्तारुढ नेकपाका नेता तथा सिन्धुपाल्चोकका सांसद (पछि प्रतिनिधि सभाका सभामुख ) अग्निप्रसाद सापकोटाको भूमिकाको चर्चा हुने गर्छ। उनको अडान र निरन्तरको प्रयत्नले नाका खुलेको थियो । त्यतिबेला पनि नेपालले तिब्बतको सुरक्षासम्बन्धी चासोमा प्रतिकूल प्रभाव नपार्ने प्रतिबद्धता जनाएपछि चीन सकारात्मक भएको बताइन्छ। तिब्बतको सुरक्षा चीनको स्थायी संवेदनशील विषय भएकाले सीमा नाकासम्बन्धी छलफलमा यो मुद्दा बारम्बार जोडिएर आउँछ।

खुलेपनि लामो समय टिक्न सकेन । २०७६ चैत ११ मा कोभिड–१९ महामारीका कारण नाका फेरि बन्द भयो। कात्तिक २०७७ मा एकतर्फी रूपमा केही समय खुले पनि पुनः रोकियो। अन्ततः २०८० वैशाख १८ बाट आयात निर्यात दुवै खुलाइयो र त्यही वर्ष भदौ १५ गतेदेखि भूकम्पको आठ वर्षपछि मानिसको आवतजावत सुरु भयो । यसका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का तत्कालीन सांसद माधव सापकोटाको नेतृत्वदायी भूमिकालाइ प्रशंसा गरिन्छ । त्यसयता सडक भासिने वा पहिरोका कारण बाहेक नाका पूर्ण रूपमा निर्बाध चलेको थियो ।  

भोटेकोसी बाढी र वर्तमान अवस्था

भदौ १० को बाढीपछि भदौ १४ मा चीनले तातोपानी नाका बन्द गरेको सूचना पठाउँदा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमार्फत लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले तत्काल व्यापारिक गतिविधि सहज नहुने संकेत दिइयो । व्यापारिक ढुवानी रोकिए पनि यात्रु आवागमन भने जारी रह्यो। बाढीका बेला चीनतर्फ फसेका ११४ जना नेपाली यही नाका हुँदै स्वदेश फर्किए। कात्तिक १ देखि ३ गतेसम्म तीन दिन अस्थायी रूपमा व्यापारिक नाका खोलिए पनि त्यसपछि फेरि अनिश्चितता दोहोरियो।

यहिबिचमा कात्तिक ९ गते पूर्वसभामुख अग्निप्रसाद सापकोटा, पूर्वसांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटा चीन भ्रमणमा गएको विषय सार्वजनिक भयो। चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको भेटवार्तापछि डिसेम्बरको पहिलो साता (मंसिर २० तिर) नाका पूर्ण रूपमा सञ्चालनमा आउन सक्ने सन्देश आएको दाबी गरिएको छ । चिनियाँ पक्षबाट भने औपचारिक मिति घोषणा भइसकेको छैन। चिनियाँ प्रतिनिधि मण्डल र नेपालका लागि चिनयाँ राजदूतसँग परराष्ट्र मन्त्री शिशीर खलालले ताताेपानी नाका खुलाउन एक सुत्रिय माग अघि सारेका छन् ।

तातोपानी नाकाको प्रश्न सीमापारिको ढुवानीमा सीमित छैन। एकातिर पूर्ण क्षमतामा नाका चलाउन उच्चस्तरीय कूटनीतिक संवाद र आपसी विश्वास आवश्यक छ भने अर्कातिर पहिरो, बाढी र हिमतालको सम्भावित जोखिम न्यूनीकरण गर्दै सुरक्षित सडक र पूर्वसूचना प्रणालीसहितको पूर्वाधार तयारी गरे मात्रै  दिगो समाधान हुनेछ । सिन्धुपाल्चोकका बासिन्दा र व्यवसायीका लागि यो नाका जीविका र अस्तित्वसँग जोडिएको छ, उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तुको मूल्य र आपूर्तिसँग जोडिएको छ । राष्ट्रका लागि राजस्व र व्यापार सन्तुलनसँग जोडिएको छ ।

प्रतिक्रिया