शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रचण्डको आग्रह

विसं २०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) का तर्फबाट अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।

५ मंसिर काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम तथा संक्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब निष्कर्षमा पुर्‍याउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

विस्तृत शान्ति सम्झौता भएको दिन (मंसिर ५) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका हुन्।

सन्देशमा उनले भनेका छन्, “शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो। त्यसैले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता हो।” विसं २०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) का तर्फबाट अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। सोही सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको दाहालले उल्लेख गरेका छन्। उक्त सम्झौता दुई पक्षबीचको सहमति मात्र नभई नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको उनको भनाइ छ।

यस अवसरमा संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। साथै, शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित र आम नागरिकप्रति आभार प्रकट गर्दै उनले सम्झौताको पूर्ण कार्यान्वयनमा जुट्न सबैलाई अपिल गरेका छन्।

प्रतिक्रिया