जुगल आधारशिविर पदमार्गमा सूचना बोर्डले सहजता

जुगल भ्रमण वर्ष २०८३' अन्तर्गत जुगल हिमाल आधारशिविर जाने पदमार्गमा सूचना बोर्ड तथा डस्टबिन राखिएको छ।

७ मङ्सिर सिन्धुपाल्चोक – ‘जुगल भ्रमण वर्ष २०८३’ अन्तर्गत जुगल हिमाल आधारशिविर जाने पदमार्गमा सूचना बोर्ड तथा डस्टबिन राखिएको छ। पवित्र भूमि नेपेमाछालमा विशेष पूजासहित पाँचदिने महत्वपूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जुगल गाउँपालिकाले जनाएको छ। पदमार्गमा सूचना बोर्ड र सरसफाइ सामग्री व्यवस्थापन गरिएसँगै आगामी दिनमा आउने पर्यटकहरूलाई यात्रा गर्न थप सहज र सजिलो हुने विश्वास गाउँपालिकाले लिएको छ।

​गाउँपालिकाको पर्यटन प्रवर्द्धन, धार्मिक सम्पदाको संरक्षण र पदमार्गको पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित उक्त अभियानमा जनप्रतिनिधि, धर्मगुरु, प्राज्ञिक व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

​अभियानका क्रममा जुगलको उच्च हिमाली क्षेत्र (हाई अल्टिच्युड), जुगल सर्किट पदमार्ग तथा ब्रह्मायणी नदीको शिरको स्थलगत अध्ययन गरिएको छ। साथै, पवित्र भूमि नेपेमाछालमा धार्मिक गुरुहरूको विशेष अन्तरक्रिया तथा भ्रमण कार्यक्रमसमेत सम्पन्न भएको छ।

​पर्यटकहरूको सहजताका लागि तेम्बाथाङमा पर्यटक सूचना केन्द्रको शुभारम्भ गरिनुका साथै पदमार्गका विभिन्न स्थानमा थप आवश्यक सूचना बोर्ड र डस्टबिनको व्यवस्थापन गरिएको हो। टोलीले स्थानीय होटल व्यवसायीहरूसँग सेवा–सुविधा विस्तारबारे छलफल गर्नुका साथै पदमार्गमा भेटिएका सयौँ पर्यटकहरूसँग प्रत्यक्ष संवाद गरेको छ।

​कार्यक्रममा जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मण दोङ तामाङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक मोहन लामा, पण्डित नारायण ढुंगाना, स्थानीय लामा गुरुहरू, पत्रकार तथा ऊर्जाशील युवाहरूको सहभागिता थियो।

​पदमार्गमा देखिएको पर्यटकहरूको उत्साहजनक भिडभाडले जुगलको पर्यटन विकासमा उज्ज्वल भविष्यको सङ्केत गरेको गाउँपालिकाले जनाएको छ। यात्राका क्रममा देखिएका केही चुनौतीहरूलाई सम्बन्धित निकायहरूसँगको समन्वयमा छिट्टै समाधान गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

प्रतिक्रिया