

७ मंसिर, ललितपुर। बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा प्रभावित क्षेत्र र नागरिकको अवस्था, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिने निर्णय गरेको छ।
बागमती प्रदेश सुशासन केन्द्र, ललितपुरमा मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा बसेको समिति बैठकले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने, विस्थापित नागरिकको सुरक्षित बसोबासको व्यवस्था मिलाउने र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा विस्तृत छलफल गरेको आर्थिक मामिला तथा योजना मन्त्री सरल सहायत्री पौडेलले जानकारी दिए ।
पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, अन्य मन्त्रीहरू तथा विज्ञहरूको उपस्थितिमा सम्पन्न भएको सो बैठकमा विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै तीनै तहका सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्यका साथ अघि बढ्ने विषयमा जोड दिइएको मन्त्री पौडेलले बताए ।

