विपद् क्षेत्रमा रहेका मोबाइलमा एकैपटक चेतावनी सन्देश दिन सकिने प्रविधिको सफल परीक्षण
बाढी, पहिरो, भूकम्प वा अन्य प्राकृतिक विपद्को जोखिममा रहेका क्षेत्रका मोबाइल फोनमा एकैपटक चेतावनी सन्देश पठाउन सकिने प्रविधिको नेपालमा सफल परीक्षण गरिएको छ।
पालुवान्युज,
२०८३ मंसिर ९ गते ७:०५ मा प्रकाशित
९ मंसिर काठमाडौँ । बाढी, पहिरो, भूकम्प वा अन्य प्राकृतिक विपद्को जोखिममा रहेका क्षेत्रका मोबाइल फोनमा एकैपटक चेतावनी सन्देश पठाउन सकिने प्रविधिको नेपालमा सफल परीक्षण गरिएको छ। गृह मन्त्रालयको पहलमा स्वदेशमै विकास गरिएको ‘सेल ब्रोडकास्ट प्रणाली’ (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो।
नेपाली प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यस प्रविधिको परीक्षण बलम्बुमा सानो संरचना तयार गरी ३४० वटा मोबाइल फोनमा एकैपटक सन्देश पठाएर गरिएको थियो। गृह मन्त्रालय विपद् व्यवस्थापन शाखाका अनुसार नेपाली प्राविधिकहरूको स्वेच्छिक योगदानमा बनेको हो।
कसरी काम गर्छ यो प्रविधिले ?
- एसएमएसभन्दा फरक र छिटो : सामान्य एसएमएसमा एउटा नम्बरबाट अर्को नम्बरमा सन्देश पठाइन्छ भने सेल ब्रोडकास्टमा निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल टावरमार्फत त्यहाँ भएका सबै मोबाइलमा एकैपटक सूचना प्रसारण गरिन्छ।
- इन्टरनेट र नम्बर नचाहिने : यो प्रणालीमार्फत सूचना पाउन मोबाइलमा इन्टरनेट वा प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर आवश्यक पर्दैन। फोन चालु अवस्थामा र नेटवर्कको सिग्नल उपलब्ध भएमा विशेष चेतावनी ध्वनि (साइरन) र कम्पनसहित सन्देश प्राप्त हुन्छ।
- पर्यटक र सर्वसाधारणलाई सहज : मोबाइल नेटवर्कमा अत्यधिक चाप परेको बेला पनि यो प्रविधि प्रभावकारी हुन्छ। यसमा आवाजमा सन्देश पढ्न मिल्ने सुविधासमेत राख्न सकिने भएकाले पढ्न कठिनाइ हुने व्यक्ति तथा अस्थायी रूपमा सो क्षेत्रमा पुगेका विदेशी पर्यटकलाई समेत जोखिमबारे सचेत गराउन सकिन्छ।
हाल नेपाल टेलिकमको टुजी नेटवर्कमा सफल परीक्षण गरिएको यस प्रविधिलाई अब टुजी र फोरजी दुवै नेटवर्कमा जोडेर परीक्षण गर्ने तयारी भइरहेको छ। आगामी चरणमा पोखरामा एनसेलको नेटवर्कबाट परीक्षण गरी क्रमशः काठमाडौँलगायत देशैभर विस्तार गर्ने सरकारको योजना छ। विपद्को पूर्वसूचना र सुरक्षित स्थानमा जान आवश्यक निर्देशन समयमै प्रवाह गरी सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न यो प्रणाली कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ।